ओली निरंकुशता धेरै दिन टिक्दैनः वर्षमान पुन

Barsaman_pun
लोकपाटी न्यूज

बुटवल। नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका छन्। तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ,’ नेता पुनले बुटवलमा आयोजित कार्यक्रममा भने, ‘राजा महाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं।’ ओली नेतृत्वको वर्तमान सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनले गरे।

नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे। ‘मन्त्रीहरूको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ।’

संविधानमा स्पष्ट रूपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो। नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि पुनले लगाए। फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झन्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरूले पाउनेमा शंका नरहेको दाबी गरे।