राष्ट्रिय सभाको अधिवेशन आज : के-के छन् कार्यसूची ?

pratinidhi_sabha_samsad
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन आज (शुक्रबार)  देखि आह्वान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो।अपरान्ह ४ बजेका लागि आह्वान गरिको राष्ट्रिय सभा बैठकका लागि कार्यसूचीबारे छलफल गर्न बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।

राष्ट्रपति विद्या भण्डारीले बैठकको सुरुमै अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने छिन्। त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ। राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ।

बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसद्का सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूह, कांग्रेस र जसपाले उक्त कदमको विरोध गरेका छन्।

नेकपा (प्रचण्ड–नेपाल) समूहले राष्ट्रियसभाको अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ। विपक्षी कांग्रेस र जसपाले पनि संसद् विघटनलगायतका मुद्दामा राष्ट्रिय सभामा बलियो उपस्थिति जनाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्