काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ। सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री ओलीसँँग संसद बिघटनको अधिकार नभएको भन्दै सभामुखले संविधानको धारा १०३ अनुसार संसद सुचारु गर्नुपर्ने उनीहरुको तर्क छ। संसदले प्रधानमन्त्री चुन्न नसकेको र ठूलो दलको नेताले ३० दिनभित्र संसदमा विश्वासको मत लिन नसकेको परिस्थितिमा मात्र राष्ट्रपतिले संसद बिघटन गर्नसक्ने संवैधानिक व्यवस्था भएको भन्दै उनीहरुले संसद सुचारु गर्न माग गरेका हुन्।
यसअघि प्रचण्ड–नेपाल लगायतका नेताहरुले अबको संवैधानिक बिकल्पका बारेमा कानून व्यवसायीहरुसँग छलफल गरेका थिए। कानून व्यवसायीहरुले पनि नेताहरुलाई संसद सुचारु गर्न सुझाव दिएका छन्। संविधानविदहरुको सुझावअनुसार नेकपाका सांसदहरुले संसद सुचारु गर्न सभामुखलाई लिखित आग्रह गरेका हुन्।
सरकारका लागि बहुमत नपुगेको, ठूलो दलले बहुमत जुटाउन नसकेको र ठूलो दलको नेताको नेतृत्वमा बनेको अल्पमतको सरकारले पनि विश्वासको मत लिन नसकेको परिस्थितिमा मात्र राष्ट्रपतिले संसद बिघटन गर्नसक्ने संवैधानिक आधार भएको तर प्रधानमन्त्रीले सिफारिस गर्नसक्ने व्यवस्था संविधानमा नै नभएको तर्क संविधानविदहरुले गरेका छन्।



लोकपाटी न्यूज

