संसद सुचारु हुन्छ, मध्यावधि चुनाव खारेज हुन्छ : वर्षमान पुन

barsaman-pun ananta
लोकपाटी न्यूज

काठमाडौं। निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले अब संसदको पुनर्स्थापना हुने बताएका छन्। निवर्तमान मन्त्री पुनले एक अनलाईनलाई अन्तर्वार्ता दिँदै संसदको पुनर्स्थापना हुने बताएका हुन्। उनले मध्यावधि चुनाव भने खारेज हुने बताएका छन्।

निवर्तमान मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले अघि बढाउनुपर्ने बताएका छन्। नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पुनले संसद विघटनअगाडि नै पेश गरेको प्रस्तावलाई कुनै न कुनै रूपले सभामुखले अगाडि बढाउनपर्ने बताए। आफूहरूले सरकारमा रहँदा प्रधानमन्त्री ओलीलाई सच्याउने प्रयास गरेको तर सम्भव नभएकाले सातजना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएको पुनले बताए। मध्यावधि चुनावको घोषणा अथवा संसद विघटनको घोषणा असंवैधानिक रहेको उनले बताए।

पुनले भने, ‛चुनावको घोषणा अथवा संसद विघटनको घोषणा अलोकतान्त्रिक पनि छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  ले पाएको जनमतको अपमान हो। समग्र नेपाली जनताको जनमतमाथिको अपमान हो यो । त्यसैले मध्यावधि निर्वाचन सम्भव छैन । यो कुनै पनि तरिकाले, संवैधानिक कोणबाट, जनमतको कोणबाट, लोकतन्त्रको कोणबाट जायज छैन। र सही छैन। त्यसैले यो खारेज हुन्छ। यो चाँडै खारेज हुन्छ।’

निवर्तमान मन्त्री पुनले कसनै पनि हालतमा पार्टी नफुछ्ने बताए।  उनले भने, ‛पार्टी फुट्दैन। किनभने पहिलो अध्यक्षले जति गल्ती गर्नुभएको छ, त्यो बराबर केन्द्रीय कमिटीले कारबाही गर्छ। त्यो कारबाहीकै कारणले पार्टी फुट्नुपर्ने हुँदैन। अरूलाई त कसैलाई केही गरेको हुँदैन। त्यसो हुँदा पार्टी एकै ठाउँमा रहनुपर्छ। उहाँले त्यतिकै आधारमा आफैँ गल्ती गर्ने, पार्टीले अनुशासनको कुरा गर्दा फुटाउने त्यो हुन सक्दैन।’