रचना मोक्तान यात्री
गणतन्त्र प्राप्तिको निम्ति
रणसमरमा लड्दै गर्दा
बन्दुकका गोलीहरूले ताछिएको
विछिप्त शरीर बोकेर
सम्झँदैछु जनताका हैरानीहरू
नियाल्दैछु बलिदानका पिरामिडहरू
सम्झँदैछु आकाश पनि उचालौंला झैं
गरेको रक्तिम बिहानीहरू
कोसौँ लामो जनताका जुलुसहरू
बिजुली झैं चम्कने आवेगहरू
शान्ति, संविधान र समृद्धिको निम्ति
विस्तृत शान्ति सम्झौतासँगै
क्यान्टोनमेन्टमा बिताईएका
कैदी जिन्दगीहरू
यही त्याग र तपस्याको
प्रतिफल स्वरुप
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
जनअनुमोदित दुई तिहाईको सरकार
आज एक्कासि आएर
फेरि फाँसिवादी शैलीमा उत्रिदै
अपनाएको छ तानाशाही जङ्गे शासन
नागरिकको टाउकोमा थेग्नै नसक्ने गरी
वैदेशिक ॠणको पहाड चुलिँदा
कोरोना कहरले देश भयाक्रान्त भएर
अर्थतन्त्र थिलथिलो भएको बेला
व्यक्तिगत स्वार्थको लागि
केवल कुर्सी बचाईरहने दाउमा
फेरि जनताकै टाउकोमाथि
असंवैधानिक कूू को तरबार लट्काउँदै
सार्वभौम संविधानको धज्जी उडाउँदै
महेन्द्र पथीय पन्चायती शैलीमा
लादिएको छ सत्र सालको नयाँ संस्करण
यो संस्करणका विरुद्ध
उठ्नुपर्नेछ जनसागरको
असाधारण छालहरू
र, बढार्नुपर्नेछ कुलाङ्गारहरूलाई।



लोकपाटी न्यूज

