सर्वाेच्चमा नेकपाका ८७ सांसद

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं, ६ पुष, असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन्।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्। सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ।

त्यस्तै संसद विघटनपछि उत्पन्न परिस्थितिका सम्वन्धमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु परामर्शमा जुटेका छन्। सिंहदरवारस्थित नेकपा संसदीय दलको कार्यालयमा शीर्ष नेताहरु संविधानविद् र कानुनविदहरुसँग कानुनी उपायका बारेमा परामर्शमा जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित संसद भंगको सिफारिस गरेको र राष्ट्पतिले कसैसँग पनि परामर्श नगरी निर्णय लिएको भन्दै त्यसको व्यापक विरोध भइरहेको छ । कानुनविदहरुसँगको परामर्श सकेलगत्तै प्रचण्डसहितका नेताहरु बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठकमा सहभागी हुनेछन् । संसदीय दलको बैठकमा आवश्यक छलफल गरेर आजै दिउँसो ३ बजे प्रचण्ड नेपाल समूहको स्थायी समिति बैठक बस्दैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्