संसद विघटनपछि कांग्रेसले बोलायो सर्वदलीय बैठक

लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभा विघटनपछिको घटनाक्रमबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक डाकेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि आगामी कदमका विषयमा छलफल गरिने जनाइएको छ। कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधिलाई बैठकका बोलाइएको छ।

सर्वदलीय बैठक र मंगलबार गरिने कांग्रेस केन्द्रीय समितिको बैठकपछि आगामी रणनीति तय हुने कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए। बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। यसअघि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सरकारका आगामी रणनीतिका विषयमा छलफल भएको थियो।

संविधानले नै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको र राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गरेपछि उत्पन्न संकटमा सर्वदलीय धारणा बनाउन आवश्यक रहेकोले बैठक बोलाइएको कांग्रेसले जनाएको छ। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको उनकै पार्टीभित्र विरोध भइरहेको छ भने कांग्रेससहित विभिन्न दलले सडकमा प्रदर्शन गरेका छन्।

यता प्रधानमन्त्रीले भने चुनावको विरोध गर्नेहरू अलोकतान्त्रिक भएको भन्दै वैशाखमा तय भएको निर्वाचनको तयारीमा लाग्न छलफल अघि बढाएका छन्। आज बिहान ९ बजे ओलीले आफूनिकट सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए।