काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो अनुमोदन गरिसकेकी छन्।
प्रधानमन्त्री ओलीले आम चुनावको मितिसमेत घोषणा गरिसकेका छन्। तर नेकपा सांसदसमेत रहेका शर्माले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्। ‘संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले आइतबार ट्वीटरमा लेखेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट विरोध भइरहेको छ। ताजा जनादेशका लागि भन्दै सरकारले वैशाखमा निर्वाचन गर्ने बताएको छ। प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गरिरहेका छन्।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन पनि पेस भइसकेका छन्। सोमबार पनि नेकपाका केही नेताहरुको तर्फबाट रिट निवेदन दर्ताको तयारी भइरहेको बताइएको छ। सबै निवेदनहरुमा प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरीर भएकाले बदरको माग गरिएको छ।
यस विषयमा तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने मागसमेत छ। अब सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद बिघटनको विषयमा ब्याख्या गर्नुपर्ने भएको छ। संवैधानिक कानूनका विज्ञहरुले अबको आश सर्वोच्चसँग मात्र भएको बताएका छन्। संविधानको अन्तिम व्याख्यता सर्वोच्च अदालतको संवैधानिक इजलाश भएकाले यसबाट अब यो संविधान र संसदीय प्रणालीलाई बचाउने कि नबचाउने निर्णय हुने कानूनविदको भनाई छ।



लोकपाटी न्यूज

