काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रकैजस्तो ‘कू’ भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा विघटन भएपछि एक अपिल जारी गरेर पौडेलले भनेका छन्, ‘‘जनताको मतको अपमान भएको छ। संविधानलाई लत्याएर लोकतन्त्रलाई अपहरण गर्ने कुकृत्य भएको छ।’ उनले अब ओली निरंकुशताविरूद्ध लड्नुको अर्को विकल्प नभएको पनि बताए।
लोकतन्त्र रक्षाका लागि जनता, राजनीतिक दल, बुद्धिजीवि र नागरिक समाजलाई पनि उनले एकजुट हुन अपिल गरेका छन्। ‘ओली निरंकुशताविरूद्ध लड्नुको अर्को विकल्प छैन,’ पौडेलले भनेका छन्, ‘प्रतिनिधिसभा विघटन संवैधानिक रूपमा अवैध छ।’
प्रधानमन्त्री ओलीले बाहुबलको मातमा सबैको आवाजलाई जवरजस्त बन्द गरेर निरंकुश चरित्र प्रदर्शन गरेको उनको आरोप छ।



लोकपाटी न्यूज

