प्रधानमन्त्री ओली निकट सांसदहरू बालुवाटारमा भेला

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन्। सोमबार बिहान ९ बजे विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए।

‘सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको छ। धेरै त जिल्लाजिल्लामा हुनुहुन्छ। कति बिरामी पर्नुभएको छ,’ उनले भने। छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएको छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सोमबार दिउँसो १ बजे आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवन बोलाएका छन्। संसद् भवनको ल्होत्से हलमा उपस्थित हुन खबर गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन्।

आजै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ। निवर्तमान सांसद राईका अनुसार नेकपा विभाजनको संघारमा पुगेका छ। उनले निकट भविष्यमै यसको छिनोफानो हुनेगरी गतिविधि अघि बढेको पनि बताए।