काठमाडौं, ६ पुस। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी राजनीतिक मतभेदमा मझधारमा रहेका नेताहरु क्रमशः आफ्नो कित्ता लिँदै गएका छन्। नेकपाको विवाद पार्टी विभाजनकै तहमा पुगेपछि नेताहरु बिचमा बस्न नसक्ने बाध्यतामा पुगेका हुन्।
पूर्वमाओवादी पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरले नेकपाको जारी विवादमा आफूलाई मझधारमा उभ्याउँदै आएका थिए। उनीहरुले पार्टी एकता कायम राख्न आफूहरु बिचमा उभिएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डलाई ‘कन्भिन्स’ गर्ने कोशिस गरेका थिए।
तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गर्न गरेको सिफारिस राष्ट्रपतिबाट अनुमोदन भएपछि नेकपामा मझधारमा बस्ने नेताहरुले आफ्नो कित्ता समात्न थालेका छन्। सोहीअनुरुप पार्टी विवादमा मध्यमार्गी भूमिकामा रहेका पूर्वएमाले पृष्ठभूमिका योगेश भट्टराई र घनश्याम भुसालले आइतबार नै मन्त्री पदबाट राजीनामा दिएका छन्।
यता, मध्यमार्गी भूमिकामा रहेका स्थायी समिति सदस्य हरिबोल गजुरेलले ओलीविरुद्ध आइतबार संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। उनले ओली सरकार राजनीतिक र नैतिक दृष्टिले असफलसिद्ध भएकाले राखिरहनुको औचित्य नभएको भन्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन्।
आइतबार संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो। संविधानतः अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्काल संसदमा रहेका २५ प्रतिशत सांसदको हस्ताक्षर र भावी प्रधानमन्त्रीको नाम प्रस्तुत गर्नुपर्ने हुन्थ्यो। त्यही व्यवस्थाअनुरुप प्रचण्डको नाम प्रस्ताव भएको थियो।
पूर्वमाओवादी पृष्ठभूमिका अर्का स्थायी समिति सदस्य एवं प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझी भने अहिलेसम्म मौन देखिएका छन्। सांसद रहेका रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन्। तर, उनीनिकट नेताहरु र सचिवालयले संसद बिघटनको विरोध गरिसकेका छन्। यसले रायमाझी पनि राजनीतिक नाफानोक्सानको हिसाब गरेपछि प्रचण्ड–नेपाल समूहमै फर्किने देखिन्छ।



लोकपाटी न्यूज

