काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि अब निर्णय गर्ने अधिकार प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको हातमा पुगेको छ। प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो अनुमोदन गरेकी थिइन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भइसकेका छन्।
सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन दर्ता भएको छ भने अधिवक्ताहरु समृत र सुलभ खरेलले अर्को निवेदन पेस गरेका छन्। त्यसैगरी अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अर्को निवेदन पनि पेस गरेका छन्। सोमबार नेकपाका केही नेताहरुको तर्फबाट रिट निवेदन दर्ताको तयारी रहेको बताइएको छ। सबै निवेदनहरुमा प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरीर भएकाले बदरको माग गरिएको छ।
यस विषयमा तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने मागसमेत छ। अब सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद बिघटनको विषयमा ब्याख्या गर्नुपर्ने भएको छ। संवैधानिक कानुनकाविज्ञहरुले अबको आश सर्वोच्चसँग मात्र भएको बताएका छन्। संविधानको अन्तिम व्याख्यता सर्वोच्च अदालतको संवैधानिक इजलाश भएकाले यसबाट अब यो संविधान र संसदीय प्रणालीलाई बचाउने कि नबचाउने निर्णय हुने सवैधानिक कानुनकाविज्ञ चन्द्रकान्त ज्ञवालीले बताए। यसअघि पनि संसद विघटनका बारेमा दुईवटा फैसला सुनाएकाले सर्वोच्च अदालतको अबको व्याख्याले नयाँ न्यायीक इतिहास बस्ने उनको भनाइ छ।
नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले पनि अवको आश सर्वोच्चसँग भएको बताए। संविधानको अन्तिम व्याख्याता सर्वोच्च भएकाले उसले यसमा न्याय दिनुपर्ने उनको भनाइ छ। वरिष्ठ अधिवक्ता खड्काले तर अहिले आशंका रहेको पनि बताए। अध्यादेशबाट बोलाइएको परिषद् बैठकमा जानु र मध्यरातमा पनि प्रधानमन्त्री भेट्न प्रधानन्यायाधीश गएको कुरा आएकाले अदालतबाट कम आशंका रहेको उनले बताए। आशंका भए पनि अबको बल अदालतकै कोर्टमै भएकाले संविधान र कानुनतः यसमा निर्णय दिने आश गर्नुपर्ने उनले बताए।
यसअघि पनि सर्वोच्चले दुई पटक संसद विघटनको बारेमा फैसला सुनाएको छ। मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको संसद विघटनबारे सर्वोच्चले फरक-फरक फैसला सुनाइसकेको छ। अहिलेको संविधान सभाबाट लेखिएको संविधान भएकाले यसमा स्पष्ट व्यवस्था नहुँदा फेरि व्याख्या हुने अवसर हुने छ। सर्वोच्च अदालतबाट नै मन्त्रिपरिषद्को उक्त निर्णयको विवादबारे अन्तिम निर्णय हुनेछ।
संवैधानिक कानुनका जानकारहरुले पनि यही कुरा बताएका छन्। वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले अबको निर्णय र निकास दिने काम अदालतको भएको बताए। प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले अब त्यसविरुद्ध कुनै व्यक्ति वा अधिवक्ताले निवेदन ल्याउने र संवैधानिक इजलाशले व्याख्या गरेर बचाउनु अबको विकल्प भएको बताए।
अर्का वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिबाट संसद विघटन सिफारिसलाई अनुमोदन गरेपछि सर्वोच्चको संवैधानिक इजलाशले यसमा निकास दिनुपर्ने बताउँछन्। आमनागरिक वा कुनै वकिलले यससम्बन्धी मुद्दा संवैधानिक इजलासमा सोझै दर्ता गर्न सक्छन्। त्यसरी मुद्दा दर्ता भए सो संवैधानिक इजलासले हेर्छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन्।
शनिबार राति र आइतबार बिहानका बीच तीन/तीनपटक भेटघाट गरी अन्तत: ओलीले संसद विघटनको शीतल निवास सिफारिस पठाए र शीतल निवासले संविधान हैन, ओलीको स्वार्थको सर्वोच्चता स्वीकार्यो। अब कतैप्रति जवाफदेही नबनी शासन चलाउने अवसर राष्ट्रपतिले ओलीका लागि जुटाइदिएकी छिन्। मंसिर ३० गतेको मिति राखेर संवैधानिक परिषद्ले निर्णय गरको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्ति गरिएको छ। यसले ओली सरकार अब राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध खनिनेछ, नियन्त्रित अख्तियारमार्फत। प्रजातन्त्रको हुर्मत लिने यो खतरनाक कुकृत्यले ‘गणतन्त्र’को सर्वोच्च कार्यालयको सान्दर्भिकताबारे प्रश्न उठ्ने वातावरण बनेको छ।
संवैधानिक परिषद्लाई सम्पूर्ण रुपमा प्रधानमन्त्रीको कठपुतली बनाउने आध्यादेश फिर्ता लिएको घोषणापछि त्यसैका आधारमा भएका नियुक्ति संसद विघटनपछि मात्र घोषित हुनु संविधानमाथिको बलात्कार भएको टिप्पणी भइरहेको छ। नेपालको राजनीतिक इतिहासमा ओलीको पछिल्लो कदमले उनी र राष्ट्रपतिलाई खलपात्रका रुपमा उभ्याउने छ। यदि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समेत संलग्नतामा यो कथित र अपारदर्शी संवैधानिक नियुक्त भएका छन् भने राष्ट्रपति भण्डारी र ओली जसरीनै जबरा पनि जनआक्रोशको सिकार बन्नेछन्।



लोकपाटी न्यूज

