नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ। नेकपाको स्थायी कमिटीको बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले आइतवार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपाको स्थायी समिति बैठकले ओलीमाथि अनुशासनको कार्वाही गर्ने निर्णय गरेको हो।
बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि कार्वाहीका लागि प्रस्ताव गरेका थिए। प्रचण्डको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ। यद्यपि, अनुशासनको कार्वाहीको निर्णय पार्टी केन्द्रीय समितिले अनुमोदन गर्नेछ। यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ।
सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुपनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ। श्रेष्ठका अनुसार नेकपाले कानुनी उपचार खोज्ने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेपछि नेकपाले ओलीमाथि कार्वाही गरेकाे हाे। नेकपाका अधिकांश नेताहरुले ओलीले कम्युनिस्ट आन्दाेलनलाई बदनाम गरेकाे भन्दै चर्काे आलाेचना गरिरहेका छन्।
बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ। भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ।
आइतबार दिउँसाे राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशकाे निर्णय गरेकाे विज्ञप्ति जारी गरिएकाे थियाे।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )को आज बसेको स्थायी कमिटीको वैठकले पारित गरेको प्रस्ताव :
१० आज २०७७ पुष ५ गते प्रधानमन्त्री श्री के पी शर्मा ओली द्वारा गरिएको प्रतिनिधिसभा बिघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक , निरङ्कुश , पश्चगामी र जनादेश ,जनभावना एवं राजनीतिक स्थिरता बिरोधी स्वेच्छाचारी कदम ठहर गर्दै त्यसको तिब्र बिरोध एवं भर्त्सना गर्दछ। यसले नेपाली जनताले ठुलो बलिदानपुर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नाङ्गो प्रहार गरेको छ। संविधानतस् संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्यु बाट यो असंवैधानिक कदमलाई स्विकार गरिनु पनि गम्भीर रुपमा आपत्तिजनक रहेको छ। संविधान र लोकतन्त्र पक्षधर शक्तिहरुका लागि यो कदम स्विकार्य हुन सक्तैन।
तसर्थ हाम्रो पार्टी यसलाई पुर्णरुपमा अस्विकार गर्दछ र यसको राजनीतिक रुपमा कडा प्रतिवाद गर्दै कानूनी उपचार समेत खोज्नेछ । हाम्रो पार्टीका सबै नेता ,कार्यकर्ता र पार्टी पंक्तिलाई संविधानको प्रवधान ,मुल्य ,मान्यता एवं मर्म बिपरितको यस असंवैधानिक एवं निरङ्कुश कदमको बिरोध गर्न र पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका गतिबिधि एवं कार्यको बिरुध्द एकताबध्द भई पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जुट्न आव्ह्वान गर्दछ।हामो पार्टी संसद भित्र र बाहिरका सबै राजनीतिक पार्टी हरु ,नागरिक समाज ,लोकतन्त्र पक्षधर शक्तिहरु र आम जनसमुदायलाई यो असंवैधानिक एवं अलोकतान्त्रिक कदमको बिरुध्द संविधान र लोकतन्त्रको पक्षमा एकताबध्द भई उभिन तथा भूमिका खेल्न अपील गर्दछ।
२) पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के पी शर्मा ओलीले स्वेच्छाचारी किसिमले हठात प्रतिनिधिसभा बिघटन को सिफारिश गरी नेपाली जनताले कठोर बलिदानपूर्ण संघर्ष बाट स्थापित जनताको सार्बभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधिसभामाथि निर्मम प्रहार गर्नुभएको छ। पार्टी स्थायी कमिटीको वैठक जारी रहेको र संसदको अधिवेशन बोलाउनु पर्ने बेलामा दुई ठूला कम्युनिष्ट पार्टी को ऐतिहासिक एकता ,पार्टीप्रति जनताले गरेको बिश्वास र भरोसामाथि प्रहार गर्दै देश ,जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानलाई असफल पार्ने कुकृत्य गर्नुभएको छ। यसरी उहाँले देश ,जनता र पार्टी माथि गर्नुभएको बिश्वासघात र प्रहार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम बिधान ,२०७५ को धारा ५६ को (क) मा ब्यबस्थित बिभिन्न प्रावधान बिरुध्द भएकाले उहाँमाथि अनुशासनको कार्वाहीका लागि केन्द्रीय कमिटीको वैठकमा प्रस्ताव पेश गर्ने र यसका लागि पुष ७ गते केन्द्रीय कमिटीको वैठक काठमाण्डौमा बोलाउने निर्णय गर्दछ।



लोकपाटी न्यूज

