संसद बिघटनको समर्थन गरौं, विरोध गर्दा प्रतिगमन बलियो हुन्छ : शंकर पोखरेल

Shankar-Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुर्‍याउन सक्ने भएकोले संसद बिघटनको समर्थन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको पनि बताए।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी आलोचना र सडक आन्दोलनसमेत भइरहेको छ। त्यसतर्फ लक्षित गरेर उनले पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएपछि नयाँ जनादेश खोजीमा संसद् विघटन गरिएकोले त्यसप्रति गम्भीर र जिम्मेवार बन्न आग्रह गरे।

पोखरलेलले लेखेका छन्, ‘पार्टी एकताको मर्म विपरीतको समिकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो।’

अहिलेको संसदीय समीकरणमा प्रधानमन्त्रीलाई काम गर्न असहज भएको उल्लेख गर्दै पोखरेलले अगाडि लेखेका छन्, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिन्छ। चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ। सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुर्‍याउन सक्छ। गम्भीर र जिम्मेवार बनौं।’