ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाए

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री ओली सोमबार बिहान ९ बजे आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्।

विघटित प्रतिनिधिसभाका सांसद् कृष्णबहादुर राईले प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको जानकारी दिएका हुन्। भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने उनले जानकारी दिए।

‘बिहान ९ बजे प्रधानमन्त्री निवासमा उपस्थित हुनका लागि भनिएको छ,’ उनले भने। यता मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि आइतबार बसेको नेकपा स्थायी समितिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गर्ने निर्णय गरेको छ।

अनुशासनको कारबाही गर्न नेकपाले पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ। सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ। नेकपाका अधिकांश नेताहरुले ओलीले कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेको भन्दै चर्को आलोचना गरिरहेका छन्।