काठमाडौं। ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन्। आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए।
लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि त्यसप्रति असहमति जनाउँदै पुनसहित नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमा पक्षमा रहेका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।
सिंहदरबारस्थित संसद सचिवालय पुगेर सामूहिक राजीनामा घोषणा गरे लगत्तै पुन निजी गाडीमा बालुवाटारमा चलेको स्थायी समिति बैठकमा भाग लिन गएका थिए। उनका प्रेस सल्लाहाकार दयानिधि भट्टका अनुसार पुल्चोकस्थित मन्त्री क्वाटर पनि आइतबारदेखि नै छाडेका छन्।
राजीनामा दिने निश्चित भएसँगै पुनले त्यहाँ रहेका आफ्ना निजी सामान बालुवाटारस्थित भाडाको निवासमा सार्न लगाएका थिए। पुनसँगै पर्यटन मन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालले सरकारी गाडी सिंहदरबारमै छाडेर निजी गाडीमा बालुवाटार पुगेका थिए।



लोकपाटी न्यूज

