ओलीलाई कारवाही गर्न बालुवाटारमा स्थायी कमिटी बैठक

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओली भने उपस्थित भएका छैनन्।

उनी निकटका १२ जना सदस्य स्थायी कमिटी सदस्यहरु पनि बैठकमा सहभागी छैनन्। ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, छविलाल विश्वकर्मा, किरण गुरुङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, रघुवीर महासेठ, लेखराज भट्ट, सुवास नेम्वाङ र विष्णु रिमाल अनुपस्थित भएका हुन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो। नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने बताउँदै आएका थिए।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने नेकपाका एक नेताले जानकारी दिए। ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं। बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ।’

यसअघि आजै बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो। सोही सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। संसद विघटन भएपछि दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो। साँझपख प्रचण्ड र नेपाल पक्षधरका सदस्यहरू बैठक बसेका हुन्।