काठमाडौं। संसद विघटन गरेकोमा आपत्ति जनाउँदै ७ जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरुमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका रहेका छन्।
कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री विना मगर, श्रम तथा रोजगार मन्त्री रामेश्वर रायले आइतबार अपराह्न संयुक्त रुपमा राजीनामा दिएका हुन्।
मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए। त्यस्तै कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुषालले संसद विघटन गर्ने प्रधानमन्त्री निर्णयले देशमाथि गम्भीर धक्का लागेको बताए। उनले यो कदमले वामपन्थी र उदार राजनीतिक प्रबन्धमाथि गम्भीर समस्या आएको बताए।
‘देशमाथि गम्भीर धक्का लागेको छ,’ भुसालले भने, ‘यो वामपन्थी र उदार राजनीतिक प्रबन्धमाथि गम्भीर समस्या आएको छ। यसको नेकपाले सामना गर्नेछ। यो क्षतिलाई पूरा गर्न हाम्रो शक्ति फेरि लाग्नेछ।’ त्यस्तै सिंचाइ, जलस्रोत तथा उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले चालेको कदम संविधानविपरित रहेको बताए।
उनले आफूहरुको राजीनमा नेतृत्वको गल्ती सच्याउन दवाव दिने उदेश्यले भएको बताए। ‘जनताको त्याग बलिदानबाट भएको उपलब्धीलाई जोगाउने र पार्टी एकतालाई जोगाउने अझैं प्रयत्न गर्छौं,’ पुनले भने, ‘यसबाट प्रधानमन्त्रीलाई दवाव होस् र गल्तीालई सच्याउन दवाव होस् भनेर हामीले यो कदम चालेका छौं।’



लोकपाटी न्यूज

