काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि सत्तारुढ र प्रतिपक्षी दलका भातृसंगठन सडकमा ओर्लिएका छन्। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका भातृसंगठनहरुले सडकमा विरोध गरेका छन्।
सडकमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओली श्री ३ हुन खोजेको भन्दै प्रदर्शन गरेका छन्। त्यसैगरि नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरुले पनि ओलीविरुद्ध प्रदर्शन गरेका छन्।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा सडकमा ओर्लिएका विद्यार्थीहरुले ‘ओलीमा चढ्यो श्री ३ को भूत, तानाशाही हुने छैन छुट’ लगायतका प्लेकार्ड बोकेर विरोध गरेका हुन्। विरोध प्रदर्शनमा अनेरास्ववियूका अधिकांश नेताहरु सहभागी भएका छन्।

विरोध प्रदर्शनमा विद्यार्थीहरुले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। संवैधानिक राष्ट्रपतिले संविधानविरोधी सिफारिसमा सही गरेको भन्दै उनीहरु राष्ट्रपतिको आलोचना गरेका हुन्। प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको खिलाफमा गरेको कदम आफूहरुलाई मान्य नहुने भन्दै विद्यार्थी नेताहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
सत्तारुढ नेकपाका नेताहरुले पनि ओलीको कदमले संविधान र गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन्। नेताहरुले संवैधानिक राष्ट्रपतिले आफ्नो अभिभावकीय भूमिका बिर्सेर गुटको हितमा काम गरेकोमा आपत्ति जनाएका हुन्।



लोकपाटी न्यूज

