काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले कित्ता क्लियर पारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेपछि प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएका थिए। तर पूर्व माओवादीबाट मन्त्री बनेका थापा र भट्टले राजीनामा दिएनन्।
शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए। थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा थापा र भट्टले सरकारमै बस्ने निर्णय लिएका हुन्। नेकपाको सचिवालय बैठकमा समेत थापाले प्रधानमन्त्री ओलीको पक्षमा धारणा राख्ने गरेका थिए।
तर झम्सिखेलमा प्रधानमन्त्रीलाई हटाउन गरिएको भनिएको भेलामा सहभागि भएर उनले प्रचण्ड खेमामै रहेको जनाउ समेत दिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थायी समिति बैठकमा पेश गरेको कागजमै थापा र भट्टलाई हटाउन प्रचण्डले आफूलाई भनेको उल्लेख गरेका थिए।
त्यस्तै सुदुरपश्चिममा भीम रावलसँग प्रचण्ड नजिकिएपछि भट्ट ओली कित्तामा पुगेका थिए। अन्तत: प्रचण्डसँग टाढिएका थापा र भट्टले ओली कित्तामा पुगेको स्पष्ट पारिदिएका छन्।



लोकपाटी न्यूज

