को–को मन्त्रीले दिँदैछन् राजीनामा ?

Prachanda-Madhav Nepal-Jhalanath Khanal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गर्दै प्रतिनिधि सभा बिघटनको सिफारिस गरेपछि नेकपाका मन्त्रीहरु आक्रोशित भएका छन्। आइतबार बिहानको मन्त्रिपरिषदको बैठकमा ओलीले गरेको निर्णय गैरसंवैधानिक भएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिन लागेका हुन्।

नेकपाको प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरु पत्रकार सम्मेलनका लागि सिंहदरबार पुगेका छन्। उनीहरुले सरकारमा रहिरहनुको औचित्य नभएको भन्दै ओली सरकारबाट राजनीमा दिन लागेका हुन्। राजीनामा दिनुपूर्व मन्त्रीहरुले सामूहिक सम्वोधन गर्नेछन्।

प्राप्त समाचारअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री बिना मगर, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतका मन्त्रीहरुले सामूहिक राजीनामाको तयारी गरेका छन्।

पत्रकार सम्मेलनका लागि सिंहदरबार पुगिसकेको एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार सिंहदरबारमा मन्त्रीहरुले प्रधानमन्त्रीको कदम र प्रतिनिधि सभा बिघटनको निर्णय सम्बन्धमा आफ्नो धारणा राख्नेछन्। उनीहरुले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै यसअघि नै आफ्नो प्रतिक्रिया दिइसकेका छन्।

प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भनिए पनि पूर्वमाओवादी पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राजीनामा दिने वा नदिनेबारे केही बोलेका छैनन्। पछिल्लो समय उद्योगमन्त्री भट्ट ओलीतिर ढल्किएका छन् भने गृहमन्त्री थापा मझधारमा देखिएका छन्।

गृहमन्त्री थापा राजीनामा नदिने मनस्थितिमा देखिए पनि उनीमाथि आफ्नै नेताहरुको चर्को दवाव परेको छ। नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्वमन्त्री एवं स्थायी समिति सदस्य पम्फा भुसाल, नेता हितमान शाक्य लगायतले गृहमन्त्रीलाई मध्यमार्गी धार छोडेर संविधानको पक्षमा उभिन चेतावनी दिने बुझिएको छ।