गण्डकी, ५ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पोखरामा पुत्ला दहन गरिएको छ । सत्तारुढ दल नेकपाका कार्यकर्ताले महेन्द्रपुलस्थित जुलुस निकालेर पुत्ला जलाएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल निकट विद्यार्थी संगठनले महेन्द्रपुलस्थित विरोध र्याली निकालेपछि पुत्ला दहन गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुको केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थमा संसद् विघटन गर्नु गलत रहेको बताए ।
उनले गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गरी कोणसभा गर्ने कार्यक्रम रहेको बताए । राजा, राणा, रजौटेहरु फालेर आएको विद्यार्थी आन्दोलनले अब प्रधानमन्त्री केपी ओलीलाई पनि सत्ताबाट हटाउने आन्दोलन तय भएको सापकोटाले बताएका थिए ।
यसैगरी युवा संघका नेता पूर्ण लामाले सबै खालको प्रवृत्तिलाई पराजय नगरेसम्म निरन्तर आन्दोलनमा नै लाग्ने बताए । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै राष्ट्रपतिद्वारा संसद् विघटन घोषणा भई चुनावको मिति तय भएको छ । आन्दोलनमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।



लोकपाटी न्यूज

