काठमाडौं, ५ पुष, संसद विघटनको सिफारिसपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, इश्वर पोखरेल, सुवास नेम्वाङलगायतका नेताहरु बालुवाटारभित्रै छन् ।
आजैका लागि नेकपा स्थायी कमिटीको बैठक बोलाइएका कारण स्थायी कमिटीका सदस्यहरुसमेत बालुवाटार पुगेका छन् । संसद विघटनको सिफारिसपछि आवश्यक सतर्कता अपनाउन चार वटै सुरक्षा निकायले आफूमातहतका निकायलाई निर्देशन दिएका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका थिए। सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको थियो।
प्रधानमन्त्रीको यो सिफारिसलाई प्रधानमन्त्रीकै दल नेकपा लगायत प्रमूख विपक्षी दल नेपाली काङ्ग्रेसले बिरोध गरेका छन। प्रधानमन्त्रीको उक्त प्रस्तावलाई लिएर विवेकशिल साझाले प्रधानमन्त्री निवासमा प्रदर्शन गर्ने जनाएको छ भने माईतीघरमा पनि उक्त प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन हुन थालेका छन। त्यस्तै पोखरामा पनि विभिन्न विध्यार्थी संघठनहरुले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका छन।
सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
‘संसद विघटनबारे फाइनल निर्णय के हुन्छ भनेर बसेका छौं,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने । प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै, नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ । सैनिक मुख्यालयले सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ । यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।



लोकपाटी न्यूज

