नेकपा स्थायी कमिटी बैठक बस्दै, ओलीलाई कारबाही गर्ने तयारी

nekap-sthai-kamiti
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटी बैठक सञ्चालनका लागि आइतबार दिउँसो बालुवाटार पुगेका छन्। सरकारले संसद् विघटनको सिफारिस गरेपछि सचिवालयका नेताहरूसँग आफ्नो निवास खुमलटारमा छलफल गरेर प्रचण्ड पार्टीको पूर्वनिर्धारित स्थायी कमिटी बैठकका लागि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

त्यही बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक हुने भएको छ। स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने नेकपाका एक नेताले जानकारी दिए।

ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं। बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ।’ बैठकका लागि नेकपाका अन्य नेता पनि बालुवाटार पुग्दै छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमबाट असन्तुष्ट नेकपाका शीर्ष नेताहरु खुमलटारमा भेला भएका थिए। मन्त्रिपरिषद बैठक चलिरहँदा ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेभेटी फर्किएका थिए। त्यसपछि अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका थिए।

सचिवालयका सदस्यहरूले ओलीको कदमले दुर्घटना निम्त्याउने चिन्ता व्यक्त गर्दै यसलाई स्वीकार नगर्न अनौपचारिक रुपमा राष्ट्रपतिसमक्ष सन्देश पठाइसकेको स्रोतले बतायो। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरु प्रधानमन्त्री ओलीको सोही कदमको विषयमा छलफल गर्न भेला भएका थिए। अब राष्ट्रपतिबाट सिफारिस स्वीकार हुन्छ या हुँदैन, राष्ट्रपतिबाट सिफारिस अनुमोदन गरेको खण्डमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न भेला भएको नेकपा स्रोतले जनाएको छ।