ओलीले प्रचण्ड भेट्न मानेनन्

Prachanda-KP Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन्।

तर ओलीले दाहाललाई भेट्न अस्वीकार गरिरहेका छन्। ’ओलीले भेट्न मानिरहेका छैनन्। दाहाल ओलीको पर्खाइमा बालुवाटारमै हुनुहुन्छ’ स्रोतले भन्यो।

प्रधानमन्त्री केपी ओलीले बिहान बोलाएको आकस्मिक बैठकमा संसद विघटनको एकलौटी निर्णय सुनाएर उठेको एक मन्त्रीले बताए। ओलीको उक्त निर्णयको चौतर्फी आलोचना भोइरहेको छ। ओलीले संसद विघटनको प्रस्ताव गरेर संविधानको धज्जी उडाएको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गरिने विभिन्न राजनीतिक दलहरुले भनेका छन्।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए।