काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री केपी ओलीले बिहान बोलाएको आकस्मिक बैठकमा संसद विघटनको एकलौटी निर्णय सुनाएर उठेको एक मन्त्रीले बताए। ओलीको उक्त निर्णयको चौतर्फी आलोचना भोइरहेको छ। ओलीले संसद विघटनको प्रस्ताव गरेर संविधानको धज्जी उडाएको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गरिने विभिन्न राजनीतिक दलहरुले भनेका छन्।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।



लोकपाटी न्यूज

