मन्त्रिपरिषदले गर्‍यो संसद बिघटनको सिफारिस

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं, ५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान सवा १० बजे बालुवाटारमा बैठक सुरु भएकाे बैठकले संसद बिघटनकाे सिफारिस गरेकाे छ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद बैठकले संसद बिघटनको सिफारिस गरेको छ। हामीलाई अकस्मात रुपमा मन्त्रिपरिषदको बैठक भनेर बोलाइयो। म जाँदा अलि ढिलो भइसकेको थियो। प्रधानमन्त्रीले एकाएक संसद बिघटनको प्रस्ताव बैठकमा राखिसक्नुभएको रहेछ, ती मन्त्रीले भने, मन्त्रिपरिषदको बैठकले संसद बिघटनको सिफारिस गरेको छ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले कसैको कुरा सुनेनन्। उनले औपचारिकताका लागि मात्र मन्त्रिपरिषदको बैठक बोलाएका थिए। अधिकांश मन्त्रीहरु नपुग्दै उनले संसद बिघटनको प्रस्ताव गरिसकेका थिए।

मन्त्रिपरिषदले स्रसद बिघटनको सिफारिस गरेपछि राष्ट्रिय राजनीति पेचिलो बनेको छ। आफ्नै पार्टीको एकल बहुमतको सदुपयोग गर्न नसक्दा ओली स्रसद बिघटनको आत्मघाती कदममा पुगेका छन्। मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी स्वीकृत गरेमा नेपालको संसद बिघटन हुनेछ।

नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका मात्र दिएका कारण मन्त्रिपरिषदको सिफारिस उनले अनुमोदन गर्ने सम्भावना छ। यसले नेपालको राजनीति फेरि भीडन्ततिर गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्