ओलीको दौडधुपः सहमतिको प्रचार, दाउपेचमा पाँच नेताको गठबन्धन

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शनिवार दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहे। प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनी पहिलो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे। सोही भेटमा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि बोलाए।

भेटमा ओलीले आफू अप्ठेरोमा परेको र त्यसमा सहयोग गर्न प्रचण्डलाई अनुरोध गरे। उनले पार्टी बैठकमा पेस भएका राजनीतिक प्रतिवेदन फिर्ता लिन पनि अनुरोध गरेका थिए। अरुबेला प्रचण्डसँग ‘वार कि पार’को संवाद गर्ने ओली शनिवार भने हार्दिकताका साथ प्रचण्ड निवासमा प्रस्तुत भए। तर, प्रचण्डले भने आफू एक्लैले मात्रै पार्टीको संकटबारे निर्णय नगर्ने ओलीलाई बताएका थिए।

त्यसपछि गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट्न ओली खुमलटारबाट सिँधै मन्त्री क्वार्टर पुल्चोक पुगे। त्यहाँ केहीबेर गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीले एक्लै छलफल गरे। सोही क्रममा उनले गृहमन्त्री बादललाई तेस्रो राजनीतिक प्रतिवेदन ल्याउन प्रस्ताव गरे। बादलले भने कुनै त्यस्तो ठोस जवाफ दिएका छैनन्। यद्यपि, उनी दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरेर साझा प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा छन्।

प्रधानमन्त्री ओली गृहमन्त्री बादलको निवासमा आएको जानकारीपछि मन्त्रीहरू भानुभक्त ढकाल, वसन्त नेम्वाङ, डा. शिवमाया तुम्बाहङ्फे, पद्मा अर्याललगायत नेताहरू त्यहीँ भेला भएका थिए। पार्टी नेताहरुसँग छलफल सकेर ओली शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भयो।

उनको राजनीतिक भेटघाटको मूलतः तीन उद्देश्य देखिन्छ, १. वामदेवलाई अध्यादेशको कार्ड फालेर आफ्नो कित्तामा तान्ने वा तटस्थ राख्ने, २. त्यसपछि स्थायी समितिमा जारी बहसलाई सचिवालयमा फर्काउने र समय लम्बाउने, ३. उल्लेखित दुवै उपाय सम्भव नभए अध्यादेश यथावत् राखेर नेताहरूलाई तर्साउने। एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर राज्य शक्ति लगाएर दमन गर्ने रणनीति सँगसँगै अघि बढाएपछि कुनै पनि नेता ओलीको बोलीमा विश्वास गर्न सक्ने अवस्थामा छैनन्।

यद्यपि ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि कतिपयले उनी केही लचक भएको रूपमा अर्थ्याए। तर, नेकपाका नेता मातृका यादव भने यो कुरामा पटक्कै सहमत छैनन्। उनले प्रधानमन्त्रीको खुमलटार प्रस्थानलाई ‘कलाकारिता’को रूपमा बुझेका छन्। ‘यसलाई प्रधानमन्त्रीको लचकताको रूपमा बुझ्नुहुन्न र उहाँको लचकता देखाउनुभएको पनि होइन,’ यादवले भने, ‘उहाँले खाली कलाकारिता देखाउनुभएको हो।’

यता फेरि विवादकै बिच प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न ओलीलाई निरन्तर दबाब दिइरहेका बेला ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरिरहेका छन्। ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रवार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा सुझाव समेत लिए। यद्यपि उनी निकट नेताहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाव दिएका थिए।

ओलीले गौतमलाई मात्र नभई अन्य नेताहरूलाई समेत विभिन्न पदको आश्वास दिँदै हिँडिरहेका छन्। एकातिर वामदेवलाई अध्यक्षको प्रस्ताव गरेका छन् भने अर्कोतिर नेकपाका वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष र प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन्। नेपाललाई भेट्न ओलीले लगातार आफू निकट नेताहरूलाई खटाइरहेको नेकपा स्रोतको भनाई छ। सहमतिका लागि लचकताको प्रचार गराइरहेका ओलीले बहुमत सचिवालय सदस्यहरूको गठबन्धनलाई तितरबितर बनाउने दाउपेचमा छन्।