नेकपा स्थायी समिति बैठक आज

nekap-sthai-kamiti
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज अपराह्न बस्दैछ। बैठकअघि शीर्ष नेताहरुबीच सहमति जुटाउने प्रयास सफल हुन सकेको छन्। दुवै पक्षका आ-आफ्नो अडानमा छन्।

हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि कार्यकारी अध्यक्ष प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त रहे। प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर प्रचण्डले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका छन्। पार्टीमा छलफलमा रहेका प्रस्तावको विषयमा स्थायी समिती बैठकले उपयुक्त निकास दिने प्रचण्डले बताएका थिए।

प्रचण्डसँगको भेटपछि ओलीले शनिबारनै राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटघाट गरेका थिए। कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए। मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ। तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताएका छन्। अहिले उक्त प्रस्तावहरु स्थायी समिति बैठकका छलफलका कार्यसूचि हुन्।

अध्यक्ष ओलीले स्थायी समितिका पछिल्ला २ बैठकमा सहभागिता जनाएका थिए। त्यसमध्ये पहिलो बैठकले पार्टीका नेता कमानसिंह लामाप्रति श्रद्धान्जलि प्रस्ताव पारित गरेको थियो भने दोस्रो बैठकमा संवैधानिक परिषद अध्यादेश फिर्ताबारे छलफल भएको थियो। बुधबार बसेको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले पार्टीबाट दुवै प्रस्ताव फिर्ता नलिएसम्म अध्यादेश फिर्ता नलिने पक्षमा रहेको बताइन्छ।