काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र गत फागुनदेखि उत्पन्न विवादले निकास नपाउँदा त्यस यता जटिल मोडबाट गुज्रिरहेको छ। विवाद समाधानका लागि भएका बारम्बारका प्रयासहरू असफल भइरहेका छन्। पार्टी निर्णय र नेतृत्वबीच भएका समझदारी कार्यान्वयन हुन नसक्दा नेकपा अहिले विभाजनको दिशामा अगाडि बढिरहेको टिप्पणी भइरहेको छ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सामान्य परामर्शसमेत नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेतृत्वबीचको दुरी अझ बढाएको छ। अध्यादेश फिर्ता लिने सम्बन्धमा बुधवारको स्थायी समिति बैठकले गरेको निर्णय पनि कार्यान्वयन भएको छैन। यसले पार्टीभित्र थप संकटको स्थिति पैदा गरेको छ।
नेकपा स्थायी समिति बैठक भोलि पुन बस्दैछ। बैठकमा सरकारले अध्यादेश फिर्ता नलिए प्रधानमन्त्री ओली विरुद्ध कडा कदम चाल्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको तयारी छ। यहीबीच पार्टीलाई संकटबाट बचाउन उपायहरूको खोजी पनि भइरहेको छ। बैठकको रणनीति बनाउन आज दिनभर पार्टी शीर्ष नेतृत्व राजनीतिक भेटघाटमा व्यस्त रह्यो।
बैठक आफू अनुकूल बनाउन नेताहरूले प्रयत्न जारी राखेका छन्। विशेष पार्टीमा अल्पमतमा रहेका ओलीले पार्टीको आन्तरिक समीकरण फेरबदल गर्न प्रयास गरिरहेका छन्। यद्यपि पार्टीमा एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर पार्टी विभाजनको तयारी भइरहेको आशय सहित नेता कार्यकर्ताले अभिव्यक्ति दिइरहेका छन्।
अध्यक्ष केपी शर्मा ओलीका अबको विकल्प के ?
पहिलो: पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको सबै निर्णय अक्षरश पालना गर्ने।
दोस्रो: राष्ट्रपतिलाई मनाएर असफल भइसकेको दल विभाजन सम्बन्धी अध्यादेश पुनः जारी गर्ने।
तेस्रोः संघीय संसद् विगठन गरेर मध्यवधी निर्वाचनतर्फ देशलाई धकेल्ने।
पार्टी कार्यकारी अध्यक्ष अर्थात् (नेकपा) को अबको विकल्प
पहिलो: पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको सबै निर्णय पालना गर्न अर्का अध्यक्ष क.ओली समूहलाई बाध्य बनाउने।
दोस्रोः पार्टी निर्णय नमान्ने ओली कमरेडलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट मुक्त गरी वरिष्ठ नेतामा कायम गर्ने।
तेस्रोः दल विभाजन अध्यादेश लिएमा संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने र आवश्यक परे महाअभियोगसम्म जाने तयारी गर्ने।
कुन बाटो बढ्ने भन्ने कुरा ओली कमरेडको रोजाइ हो। देशलाई धेरै दिन कोमामा राखेर जान सकिँदैन। -सुबोध श्रीपालिको फेसबुकबाट




लोकपाटी न्यूज

