ओलीकाे शनिबार : खुमलटारदेखि शितलनिवाससम्म एक फन्काे

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेता तथा मन्त्रीहरुको घरदैलोमा ब्यस्त रहे। आफ्ना सबै विकल्पहरु सकिएपछि सहमतिमा आउन आग्रह गर्दै ओली नेता तथा मन्त्रीहरुको घरदैलोमा धाउन बाध्य भएका बुझिएको छ।

अध्यक्ष एवं प्रधानमन्त्री  ओली शनिबार बिहानैदेखि राजनीतिक गतिविधिमा सक्रिय बनेका हुन्। पछिल्लो चरणमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपति निवास शितलनिवास पुगेर ओलीले बिहानदेखिको आफ्नो सक्रियताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराए।

ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज विहान ११ बजे खुमलटार पुगेका थिए। करिब एक घण्टा चलेको भेटवार्तामा नेता वामदेव गौतमको समेत उपस्थित रहेको थियो। नेकपा भित्रको शक्ति सन्तुलनका हिसाबले ओली दबाबमा रहेका बेला शनिबारको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। खुमलटार पुगेर ओलीले आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा आउन प्रचण्डलाई आग्रह गरे। प्रचण्डले आफ्नो अडान भने कायमै राखेका छन्।

स्रोतका अनुसार ओलीले आफूले अध्यक्षबाट छोड्नुपरेमा वामदेव गौतमलाई अध्यक्ष बनाउने प्रस्ताव गरेको बताएको छ। ओली र प्रचण्डको बीचमा भएको छलफलमा गौतम पनि सहभागी भएका थिए।

प्रचण्डलाई भेट गरेपछि ओली सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेट गर्न मन्त्री क्वाटर पुगेका थिए।गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका ओलीले त्यहीं पाँच जना मन्त्रीहरुसँग भेटघाट गरेका छन्।

गृहमन्त्रीसँगको छलफलकै क्रममा त्यहाँ पाँचजना मन्त्रीहरु जम्मा भएका थिए। छलफलमा गृहमन्त्री थापासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवामाया तुम्बाहाङ्फे र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी थिए।