काँग्रेस-जसपा बैठकः सरकारको अकर्मण्यताविरुद्ध मिलेर लडौं

Congress_Jasapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच प्रतिपक्षको धर्म निर्वाह गर्नेसन्दर्भमा दुई बुँदे सहमति भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिवार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलमा दुई बुँदे सहमति भएको हो।

पहिलो, संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र दोस्रो, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्‌मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति दुई दलका शीर्ष नेताहरुबीच भएको छ।

काँग्रेसकै प्रस्तावअनुसार देउवालाई भेट्न जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो गएका थिए। काँग्रेसतर्फबाट भने देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल उक्त भेटमा सहभागी थिए। उनीहरू संसद्मा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन सहमत भएका छन्।

भेटमा वर्तमान सरकारका क्रियाकलाप, कोरोना नियन्त्रण र न्यूनीकरणमा सरकारको असफलता, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र संसद्को हिउँदे अधिवेशनलगायत विषयमा छलफल भएको थियो। ‘यो सरकारको अकर्मण्यताको कसरी प्रतिरक्षा गर्ने ? प्रतिपक्षीको धर्म कसरी निभाउने ? भन्ने विषयमा छलफल भयो, मिल्न सक्ने साझा मुद्धाहरुमा मिलेर जाऔँ भन्ने कुरा भयो,’ बैठकपछि काँग्रेसका वरिष्ठ नेता पौडेलले भने।

काँग्रेसको शुक्रवार बसेको संसदीय दल कार्यसमितिको बैठकले संसद्को हिउँदे अधिवेशन र अध्यादेश लगायत विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो। शुक्रवार साँझ भने देउवाले संसद्मा काँग्रेसको २५ प्रतिशत सङ्ख्या नपुगेको र अन्य दलसँगको सहकार्यको प्रयास असफल भएका कारण संसद्को विशेष अधिवेशनको माग गर्न नसकिएको ट्वीट गरेका थिए।