काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता संकट टरेको सुनिश्चितता नभएसम्म अध्यादेश फिर्ता नलिने योजना बनाएका छन्। बुधवार स्थायी समिति बैठकको अध्यादेश फिर्ता लिने सहमति पालना गर्न ओलीले आनाकानी गरेका छन्।
स्थायी समिति बैठकको सहमतिका बाबजुद पनि अध्यादेश २-४ दिन हेरौं, राष्ट्रपतिसँग पनि सल्लाह गरौं भन्ने बाहना बनाएर ओलीले अध्यादेश फिर्ता लिन आनाकानी गरिरहेको नेकपाका एक नेताले बताए। नेकपा स्थायी समिति बैठक भोलि बस्दैछ। बैठकको पूर्व सन्ध्यामा ओलीले पार्टी कार्यकारी अध्यक्षसहित शीर्ष नेताहरूसँग भेट गरेका थिए।
ओलीले अध्यादेश फिर्ता लिने सहमति पालना गर्न आनाकानी गरेपछि प्रचण्ड-नेपाल समूह ओली विरुद्ध कडा कदम चाल्ने तयारीमा छ। त्यसैको चाल पाएका ओलीले प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए। खुमलटारमा ओलीले आफ्नो पुरानै अडान दोहोर्याउँदै प्रचण्डले प्रस्तुत गरेको ‘आरोप पत्र’ फिर्ता लिन अनुरोध गरेका थिए। तर प्रचण्डले आरोप पत्र फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेका छन्।
यस्तो पृष्ठभूमिमा ओलीले स्थायी समिति बैठकको सामना गर्ने हतियारको रूपमा अध्यादेशलाई प्रयोग गर्न सक्ने नेकपाका एक नेताले बताएका छन्। त्यसअनुरूप ओलीले बैठकमा दुवै अध्यक्षबाट प्रस्तुत गरिएका प्रतिवेदन फिर्ता लिने र त्यसपछि मात्र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने प्रक्रिया अघि बढाउने बटमलाइन बनाएर अघि बढ्ने रणनीति बनाएको बताइन्छ।
यद्यपि प्रचण्ड-नेपाल पक्षले शुक्रवार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरूसँग छलफलमा प्रधानमन्त्री ओलीलेअध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी दिएको खबर बाहिरिएको थियो। भोलिको स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्ने सुईको पाएका ओलीले आज हार्दिकताका साथ प्रचण्ड निवासमा प्रस्तुत भएका थिए। आफू अप्ठेरोमा परेको र त्यसमा सहयोग गर्न प्रचण्डलाई ओलीले अनुरोध गरेका थिए। तर प्रचण्डले भने आफू एक्लैले मात्रै पार्टीको संकटबारे निर्णय नगर्ने ओलीलाई बताएका थिए।



लोकपाटी न्यूज

