पाँच नेताको गठबन्धन भत्काउने ओलीको योजना असफल

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक भोलि (आइतबार)का लागि बोलाइएको छ। बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भेटघाटलाई तिब्रता दिएका छन्। शनिबार बिहानमात्र ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगे।

खुमलटारमा दुई अध्यक्षबीचको छलफलमा पार्टी उपाध्यक्ष वामदेव गौतमसमेत उपस्थित थिए। अरुबेला प्रचण्डसँग ‘वार कि पार’ हुने भन्दै संवाद गरिरहेका ओली आज भने हार्दिकताका साथ प्रचण्ड निवासमा प्रस्तुत भएका थिए। आफू अप्ठेरोमा परेको र त्यसमा सहयोग गर्न प्रचण्डलाई ओलीले अनुरोध गरेका थिए। तर प्रचण्डले भने आफू एक्लैले मात्रै पार्टीको संकटबारे निर्णय नगर्ने ओलीलाई बताएका थिए।

ओली अबको स्थायी कमिटी बैठकको तयारीका लागि खुमलटार पुगेको बताइएको छ। ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेको सन्दर्भलाई धेरैले राजनीतिक रणनीतिको रूपमा लिएका छन्। ओलीले अध्यादेश फिर्ता लिने सहमति पालना गर्न आनाकानी गरेपछि प्रचण्ड-नेपाल समूह ओली विरुद्ध कडा कदम चाल्ने तयारीमा छ। त्यसैको चाल पाएका ओलीले प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए। स्रोतका अनुसार सकेसम्म प्रचण्डलाई फकाउने भएन भने बहुमत सचिवालय सदस्यहरुको गठबन्धन तितरबितर पार्ने योजना ओलीको रहेको छ।

सोही अनुरुप आफूले खुमलटार पुगेर कुराकानी गर्ने र दुईमध्ये एक पद छाड्नै पर्दाको अवस्थामा वामदेवलाई अघि सारेर सचिवालयको गठबन्धनलाई तितरबितर पार्ने योजना बनाएको नेकपा स्रोतले भन्यो। भेटमा प्रधानमन्त्रीले प्रचण्डको १९ पृष्ठको र आफ्नो ३८ पेजको दुबै राजनीतिक प्रतिवेदन फिर्ता लिएर जान जोड गरेका थिए। खुमलटार स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डसँग ‘मिलेर जाऔं कमरेड, महाधिवेशनपछिको अध्यक्ष तपाईं नै हो’ समेत भनेका थिए। प्रत्युत्तरमा दाहालले औपचारिक रुपमा पेश भएका प्रतिवेदन र विषयहरु पार्टीको औपचारिक प्रक्रियाबाटै टुंगिनेमा आफू दृढ रहेको बताएका थिए।

आफू पुगेकै समयमा उपाध्यक्ष वामदेव गौतमलाई समेत प्रधानमन्त्रीले खुमलटारमा बोलाएको सन्दर्भलाई निकै चासो र अर्थपूर्ण मानिएको छ। पहिले बिहान साढे दश बजे भनिएको भेटघाटको लागि प्रधानमन्त्री एघारको हाराहारीमा मात्र खुमलटार पुगेका थिए। लगत्तै, गौतम पनि खुमलटार पुगेको बताइन्छ। हिजो पेरिसडाँडामा भएको १ नं. प्रदेशस्तरीय भेलामा अनुपस्थित भएका गौतम आज बालुवाटारको आग्रहमा खुमलटार पुग्नुलाई संयोगको रूपमा मात्र लिन नहुने नेताहरु बताउँछन्।

तर, राजनीतिक प्रतिवेदन र पार्टीभित्रको विवाद सचिवालयबाट फुत्केर स्थायी समितिमा पुगेकाले अब ती विषयको छिनोफानो सानो कमिटीतिरभन्दा ठूलो अर्थात् केन्द्रीय समितिमा नै पुगेर निर्णायक बनाउने अर्को पक्षको तयारी छ। यसबीच बालुवाटारले पूर्व माओवादी तथा प्रचण्ड निकट भनिएकाहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतको एउटा समूह निर्माणमा जोड दिँदै त्यसको नेतृत्व गर्न बादललाई आग्रह गरेको बताइन्छ।

खुमलटारबाट फर्किएपछि ओली पुल्चोकमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री निवास पुगे। सोही क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे पनि बादल निवासमा पुगेका थिए। भोलीको स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्ने सुईको पाएपछि ओली पूर्व माओवादीलाई फकाउने रणनीतिमा लागेको ओली निकट नेताहरुले बताएका छन्।