‘प्रधानमन्त्री हट्दैनन्, केपी ओली र माधव नेपाल मिल्छन्’

SOM PRASHAD PANDEY
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका छन्। उनले नेताहरुबीच सघन छलफल तथा वार्ता भइरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारेका छन्।

रिपोर्टस क्लबका बोल्दै उनले भने, ‘हामी पार्टी विवाद मिलाउनका लागि समन्वय गरिरहेका छौं। यसअघि पनि गरेकै हो। विवाद मिलाउनका लागि हामी कोशिस गरिरहेका छौं। मुख्य कुरा पार्टीलाई विधि÷पद्धति ढंगले चलाउन लागेका छौं। विधि र पद्धति कायम गर्दै अग्रगमन कायम गर्दै अघि बढ्ने कुरा मुख्य कुरा हो। नेताहरुबीच कुरा मिल्छ। पार्टीभित्र विवादका घटना धेरैपटक भइसकेको छ। यो घटना पनि साम्य हुन्छ।’

उनले आफ्नो अनुभूति पार्टी विभाजन नहुने सुनाए। उनले भने, ‘पार्टी विभाजनको कसैको चाहना होला। तर पार्टी चाहीँ विभाजन हुँदैन। तर, विश्वास गरौं पार्टी विभाजन हुँदैन। अध्यक्षद्धय ओली र दाहालबीच सम्झौता हुने मात्रै होइन, सबै नेताबीच सहमति हुन्छ। छलफल र सम्वाद जारी छ। प्रधानमन्त्री हटाउने कुरा भएको छैन। राष्ट्रपतिले संविधानको पूर्ण पालना गर्नुभएको छ। उहाँले गर्नुपर्ने काम गर्नुभएको छ।’

उनले संविधान कार्यान्वयन भइसकेको अवस्था सुनाउँदै अब मुलुकलाई एउटा नयाँ दिशामा लैजानुपर्ने सुनाए। स्थायित्व दिँदै मुलुकको समृद्धिमा लाग्नुपर्ने आम जनताको चाहना रहेको उल्लेख गर्दै पाण्डेले भने, ‘नेकपालाई जनताले स्थिरताको लागि मत दिए, मुलुकलाई अघि बढाउने सवालमा नेकपालाई मत दिएका हुन्। पार्टीको आन्तरिक जीवनमा केही केही असमाञ्जस्यता देखिए। जति बाहिर विवाद उठाएर आएको छ, समाप्तै हुने अवस्था सिर्जना गरिएको छ, त्यो होइन। एक त सामाजिक सञ्जालमा पार्टीमा विवाद भएको भन्दा बढी प्रचार गरिएको छ।

उनले भने – प्रचार गरेको मुख्य कारण चाहीँ संविधानलाई नस्वीकारेको संख्याले गरिराखेको छ, संविधान नै गलत हो भन्ने प्रमाणित गर्न सानो कोशिस भएको छ। कम्युनिष्ट सरकारका नबनोस भन्ने चाहनेहरुले पनि यो खालको प्रचार गरेका छन्। सानो/सानो समूह र झुण्डहरु गणतन्त्रको विरुद्धमा नारा लगाएका छन्, राजतन्त्र यो देशमा फर्किँदैन। धमिलो पानीमा माछा मार्ने काम नगरे हुन्छ।’