काठमाडौं, ४ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन्। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन्।
संसदको विशेष अधिवेशन बोलाउन माग गरेका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ। साक्षात्कारमा बोल्दै उनले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको स्पष्ट पारे। उनले भने, ‘उहाँले संविधानअनुसार काम गर्नुभएको छ। राष्ट्रपति महोदयले सरकारको सिफारिसअनुसार काम गर्ने हो। त्यो काम उहाँबाट भइरहेको छ। उहाँ संविधानको संरक्षक हुनुहुन्छ।’
उनले राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको बताए। उनले भने, ‘आफू आफूमा झगडा गर्ने, आफै भेट्न जाने। नेपाली कांग्रेसका नेताहरु पनि जानुभाछ। रामचन्द्रजी जानुभाछ। पशुपतिजी जानुभाछ। उहाँहरु भेट्न जाँदा चाहीँ राजनीतिक नहुने !’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षीबाट विरोध नभई आफ्नै दलबाट विरोध भएको पनि गुनासो पोखे।
उनले भने, ‘नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेकै हो। सरकारलाई सबैभन्दा बढि आफ्नै पार्टीबाट डिस्टर्ब भएको छ। अहिले जति पनि केपी ओलीको विरोध भइरहेको छ, यो सब जनताको लागि हो कि ? संविधानको लागि हो कि ? समृद्धिको लागि हो कि ? उखु किसानको लागि हो कि ? वा के को लागि हो ? हेर्नुहोस्, राजनीति त नेपालमा व्यक्तिगत स्वार्थमा भयो। यसो भयो भने न मुलुकमा सुशासन हुन्छ। न समृद्धि हुन्छ।’
उनले अहिलेको संविधान लामो समयको संघर्ष र बलिदानीबाट आएको सुनाउँदै यसको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले मुलुकलाई सकारात्मक दिशातर्फ लैजानका लागि सकारात्मक पहल हुनुपर्ने पनि सुझाए। र, विपी र पुष्पलालको नीति आत्मसात गर्न पनि उनले सुझाएका छन्।
संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै ८३ जना सांसदहरुको हस्ताक्षरसहित जाँदापनि किन समावेदन दर्ता भएन ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘उहाँहरु एकैचोटी जानुभयो। तर, उहाँहरु शितलनिवासमा हुँदा फोनमा आउन थाल्यो कि सहमति भइसकेको छ, अब विशेष अधिवेशन बोलाउन पर्दैन भनेर। आफ्नो पार्टीको सरकारलाई आफ्नै पार्टीका सांसदले संसद अधिवेशन बोलाउनुपर्ने यो अनौठो भयो। उहाँहरुको निवेदन दर्ता भएको भए मुुलुकमा राजनीतिक संकट उत्पन्न हुन्थ्यो। बरु, नेपाली कांग्रेसले धैर्यता देखाइरहेको छ।’
उनले नेकपाका सांसदहरु संसद अधिवेशन बोलाउनका लागि के विधिवत रुपमा पार्टी कमिटीबाट पास गराएर जानुभएको छ ? वा मिडियालाई जानकारी दिएर जानुभएको छ र ? विशेष अधिवेशन बोलाउनुपर्नेको कारण के हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जबकि पुस १८ गतेभित्रै संसदको अधिवेशन आउँछ। अहिले नै विशेष अधिवेशन बोलाउनुपर्ने किन ? यसको भित्र के छ ? पहिला त प्रधानमन्त्रीलाई कन्भिन्स गर्नुपर्ने थियो।’



लाेकपाटी न्यूज

