ओलीको दौडधुप सहमतिको प्रयास कि समय टार्ने खेल ?

bamdev-oli-prachanda_20201219062836
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेता तथा मन्त्रीहरुको घरदैलोमा ब्यस्त रहे। आफ्ना सबै विकल्पहरु सकिएपछि सहमतिमा आउन आग्रह गर्दै ओली नेता तथा मन्त्रीहरुको घरदैलोमा धाउन बाध्य भएका बुझिएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्षर्गमा पुग्दा होस् वा राष्ट्रिय मुद्दामा कुरा नमिल्दा राष्ट्रपति भेट्न सुटुक्क शीतलनिवास छिर्दै आएका ओली ‘यू-र्टन’ भएका हुन्।

ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज विहान ११ बजे खुमलटार पुगेका थिए। करिब एक घण्टा चलेको भेटवार्तामा नेता वामदेव गौतमको समेत उपस्थित रहेको थियो। नेकपा भित्रको शक्ति सन्तुलनका हिसाबले ओली दबाबमा रहेका बेला शनिबारको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। खुमलटार पुगेर ओलीले आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा आउन प्रचण्डलाई आग्रह गरे। प्रचण्डले आफ्नो अडान भने कायमै राखेका छन्।

राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ। संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा ओलीले आलटाल गरेपछि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाले ‘एक्सन’ लिने चेतावनी दिएका छन्।

मुठभेडको राजनीतिका लागि विकल्पहरु सकिँदै गएपछि संसद विघठन र मध्यावधी निर्वाचनसम्मको निर्णय लिन खाका तयारीमा रहेका ओली अब ठूलो जोखिम मोल्न सक्ने सामथ्र्य सकिएको विश्लेषण पनि गरिएको छ।

यसैबिच, गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका ओलीले त्यहीं पाँच जना मन्त्रीहरुसँग आजै भेटघाट गरेका छन्। गृहमन्त्रीसँगको छलफलकै क्रममा त्यहाँ पाँचजना मन्त्रीहरु जम्मा भएका थिए। छलफलमा गृहमन्त्री थापासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवामाया तुम्बाहाङ्फे र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी थिए।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरूलाई आफ्नो पक्षमा पार्न फकाउदै आएका छन्। पछिल्लो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको छ।