ओलीले दिए राजनीतिक भेटघाटलाई तीब्रता, पार्टी विवादका बीच भेट कति अर्थपूर्ण ?

bamdev-oli-prachanda_20201219062836
लोकपाटी न्यूज

काठमाडौं। नेकपा पार्टीको विवाद बढेसँगै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्।

शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गएका ओलीले त्यहीँ उपाध्यक्ष वामदेव गौतमलाई पनि भेटेका छन्।ओली र प्रचण्डको छलफलको क्रममा वामदेव पुगेपछि उनी पनि छलफलमा सहभागी भएका हुन्।

करिब डेढ घण्टाको छलफलपछि बाहिरिएका प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापासँग पनि भेटघाट गरेका छन्। छलफलकै क्रममा त्यहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएका थिए।

kp-Oli_Badal-bhaanubhakta-Basanta_20201219074400

पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ। यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान पनि गरिएको छ।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ।त्यसकारण नेकपामा प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ।

यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको समावेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो।

प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई दबाब दिँदै आएका छन्। तर ओली पनि आफ्नो अडानबाट पछाडि हटेका छैनन्।