प्रचण्डलाई भेट्न खुमलटार हिँडे प्रधानमन्त्री ओली

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्‍त्री एवं अध्यक्ष केपी शर्मा ओली खुमलटार प्रस्थान गरेका छन्। नेकपामा विवादले उग्र रुप लिएपछि प्रचण्डलाई फकाउन ओली प्रचण्ड निवास खुमलटारतिर प्रस्थान गरेका हुन्।

विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षले छलफलले तीव्रता पारेका छन्। विवाद उत्कर्षमा पुगेको बेला आजको ओली-प्रचण्डको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रचण्ड-नेपाल पक्षले शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा अध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिएको थियो।

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश र प्रचण्ड-नेपाल समूहले संसद बोलाउन शीतल निवासमा बोलाएको हस्ताक्षर फिर्ता गर्ने निर्णय भएको थियो। तर प्रधानमन्त्री ओलीले उक्त अध्यादेश फिर्ता लिने मानेका छैनन्। नेकपाको स्थायी कमिटीको बैठक भोलि बोलाइएको छ। उक्त बैठकमा पार्टीमा देखिएका विवाद हल गर्ने गरी निर्णय हुने अपेक्षा गरिएको छ।