कांग्रेस एक्लैले संसदको विशेष अधिवेशन माग गर्न सक्दैनः देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा कांग्रेस एक्लैसँग २५ प्रतिशत संख्या नभएकाले विशेष अधिवेशन माग गर्न नसकेको बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत देउवाले कांग्रेस एक्लैसँग संसद्को विशेष अधिवेशनको माग गर्न एक चौथाई सांसद संख्या नपुगेको बताए।

कांग्रेससँग आवश्यक संख्या नभएपछि अन्य दलका नेताहरुसँग यस विषयमा छलफल भएपनि सार्थकथा नपाएको बताए। देउवाले तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गरेका छन्। कांग्रेसले संसद् अधिवेशन माग गरेर निवेदन दिन नसकेको भनी आलोचना भएपछि देउवाको यस्तो प्रष्टिकरण आएको हो।

‘कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो। तर, ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौं,’ उनले लेखेका छन्। सभापति देउवाले अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गरेका छन्।

संसद्को विशेष अधिवेशन बोलाउन प्रतिनिधिसभाका २५ प्रतिशत सांसद्को हस्ताक्षर सहित निवेदन दिनुपर्छ। तर कांग्रेससँग ६१ जनामात्र सांसद् छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा सो संख्या पर्याप्त हुँदैन। नेकपाको प्रचण्ड र माधव नेपाल पक्षले एक चौथाइ भन्दा बढी सांसद्को हस्ताक्षर सहित विशेष अधिवेशन माग गरेर राष्ट्रपति समक्ष निवेदन लगेपनि पार्टीभित्र सहमति भएर फिर्ता लिएको थियो।