काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान र लोकतन्त्र खतरामा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले अब राष्ट्रपति र प्रधानमन्त्री दुवै विरुद्ध महाभियोग, अविश्वास प्रस्ताव ल्याउनु पर्ने बताएका छन्।
उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसकेको टिप्पणी गरे। उनीहरूबाट हुनसक्ने अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउन नहुने भट्टराईको भनाई छ।
उनले लेखेका छन्,‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शिरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसके। अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है!’




लोकपाटी न्यूज

