‘अध्यादेश प्रकरणमा शेरबहादुर देउवाको भूमिका शंकास्पद’

Prachanda_Nepal_Paudel
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो। भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको बताइएको छ।

स्रोतका अनुसार उनीहरूबीच प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले चाल्न सक्ने सम्भावित कदमबारे केन्द्रीत रहेर छलफल भएको छ। भेट मुख्यगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाप्रति केन्द्रीत रहेको उक्त स्रोतको दाबी छ।

उनीहरूले भनेका थिए, ‘प्रधानमन्त्रीले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा शेरबहादुरजीको भूमिका शंकास्पद छ, हामी पार्टी फुटबाट जोगाउन लागेका छौँ, तपाईंले देउवाजीलाई रोकिदिनुस्।’ प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच विभिन्न पदमा भागबन्डा हुन सक्ने र संवैधानिक परिषद बैठक बस्न सक्ने प्रचण्ड र नेता नेपालको शंका थियो।

यद्यपि दुबै पक्षले भेटवार्तालाई गोप्य राख्न खोजेका छन्। भेटमा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले अब के गर्छन् भन्ने आफूहरूले भेउ पाउन नसकेको पनि बताएका थिए। ‘केपी ओलीले कुन स्तरको कदम चाल्छन् हामीले अझै आँकलन गर्न सकेका छैनौं,’ स्रोत भन्छ, ‘तर ओलीलाई यत्तिकै छाड्न भने हुन्न, उहाँलाई सच्याउन जरूरी छ।’