फेरि विशेष अधिवेशनका लागि बाध्य नपारियोस् : विष्णु रिजाल

Bishnu_Rijal
लोकपाटी न्यूज

काठमाडौं। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए फेरि संसद् आह्वानका लागि दबाब दिने चेतावनी नेकपाका नेताहरूले दिएका छन्। यसअघि सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा सांसद भीम रावल र पम्फा भुसालले ८३ जना सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए।

अध्यादेशबाट प्रधानमन्त्री केपी ओली पछाडि हटे संसद्को विशेष अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद निवेदन दर्ता नगरी फर्किएका थिए। नेकपा स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको थियो। तर प्रधानमन्त्री ओलीले विवादित उक्त अध्यादेश फिर्ता लिने छाटकाँट देखाएका छैनन्।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीले गरेको निर्णय बमोजिम विवादित अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। पार्टीका निर्णय कार्यान्वयन हुँदा मात्र पार्टीमा विश्वासको वातावरण बन्ने भएकोले त्यसप्रति नेतृत्व गम्भीर हुनुपर्ने उनको भनाई छ। यदि प्रधानमन्त्री ओलीले अध्यादेश तत्काल फिर्ता नलिए पुन संसद्को विशेष अधिवेशनका लागि हस्ताक्षर सहित शीतल निवास पुग्ने रिजालले चेतावनी दिए।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीमा निर्णय भएपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दा मात्रै अविश्वास र असहमति कम गर्न सकिन्छ । प्रधानमन्त्रीले अध्यादेश तत्काल फिर्ता नलिए संसद्को विशेष अधिवेशन आह्वानका लागि सांसदहरू फेरि शीतल निवास पुगेको दृश्य देख्नुपर्ने नै छ। दुनियाँ हँसाएर र आफ्नै विश्वसनीयता यति तल झारेर स्वयम् व्यक्ति र पार्टीलाई के फाइदा होला र ?’