काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभइ नियन्त्रण गरेर जाने बताएका छन्। शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ स्तरीय आफू निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
पार्टीको नियन्त्रणबाहिर ओलीको एकलौटीपन बढेकै कारण उनलाई नियन्त्रण गर्न खोजिएको प्रचण्डले बताए। अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेको भन्दै प्रचण्डले पार्टीको निर्णय ओलीले नमानेको बताएका थिए। उनले पार्टी निर्णय मान्न ओलीलाई आग्रह समेत गरेका गरे।
प्रचण्डले सचिवालयमा आफुले पेश गरेको राजनीतिक प्रस्तावले प्रवृत्तिगत कुराहरुलाई उजागर गरेपनि ओलीको प्रस्ताव व्यक्तिगत गालिगलौजमा उत्रिएको दाबी गरे। नेताहरुले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने बताएका छन्। भेलालाई वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गरेका थिए।
वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै ओली र उनको समूह गोयबल्स शैलीमा कूप्रचारमा उत्रिएको आरोप लगाए। नेता नेपालले सबै समस्या ओलीबाटै सिर्जित भएको जिकिर समेत गरे।
भेलामा प्रदेश १ का प्रचण्ड–नेपाल निकट १४ जिल्लाका इञ्चार्ज, अध्यक्ष, सचिव र त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी भएका थिए। यसअघि ओली समूहले पनि प्रदेश १ को भेला गरिसकेको छ।



लोकपाटी न्यूज

