ओलीमा आएको वैचारिक विचलनले दुर्घटना निम्त्याउन सक्छः देव गुरुङ

deb gurung
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीमा फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताएका छन्। बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा नेता गुरुङले अहिले वैचारिक लडाइँ सुरु गर्नुपर्ने बेलामा चिन्तन भने यदुवंशीयजस्तै पाइएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको उनले बताए। ‘मेरो राजीनामा माग्नु व्यक्तिगत मामिला हैन, पार्टीले संस्थागत निर्णय गरेर आउनुपर्नेमा त्यो नहुनु चिन्तनमा गम्भीर विचलन हो,’ गुरुङले भने, ‘यस्तो विचलनले दुर्घटना निम्तिन सक्छ।’

आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णयविना राजीनामा नदिने स्पष्ट पारे। उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रकारका समस्या पैदा भएको पनि बताए। लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती देखिएको जिकिर गर्दै उनले सबै मिलेर त्यसलाई सामना गर्नुपर्ने बताए।

कतिपय विषय पार्टीपंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुने उनले बताए। ‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौं कि भिन्न मतलाई निषेध गरेर जान्छौं वा एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो,’ उनले भने। कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढ्ने हो भने छिटो सकारात्मक परिणाम हासिल हुने उनले बताए।

गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताए। ‘द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता-कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्,’ उनले भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन।’