काठमाडौं। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्केपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन्। प्रचण्डले आफू निकटका नेताहरुलाई प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने बताएका छन्। ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने प्रचण्डलाई बताएका हुन्।
बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए।
तर, बुधबार ओली र प्रचण्डवीच मिलाप गराउन भूमिका खेलेका घनश्याम भुसाललगायतका स्थायी कमिटीका नेताहरुले भने आजको क्याबिनेटले अध्यादेश फिर्ता हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए।
प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगित गरेका छन्। अहिले ६ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक डाकिएको छ।
मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले आशंका गरेका छन्।



लोकपाटी न्यूज

