हिन्दु राष्ट्र ल्याउने कुरा गर्नु गलत हुन्छः डा. शेखर कोइराला

Shekhar Koirala
लोकपाटी न्यूज

मोरङ। कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र राजनीतिक दलहरुले ठिक ढंगले काम गर्न नसके मुलुकमा राजा फर्किन सक्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँगको कुराकानीमा उनले सरकारले जनभावना अनुसार काम गर्न नसके राज फर्किन सक्ने संकेत गरे।

‘सरकार र राजनीतिक दलहरुले जनभावना अनुसार काम गरे राजा फर्किदैन,’ उनले भने, ‘संविधानमा लेखिएका कुराहरुको अक्षरश: पालना गरेर अघि बढ्नु पर्ने बेलामा जनमत संग्रहमार्फत हिन्दु राष्ट्र ल्याउने कुरा गर्नु गलत हो।’ संविधानमा धर्मको बारेमा उल्लेख भएका विषयमा कानुन बनाएर कार्यान्वयन गरेर अघि बढ्नुपर्ने कोइरालाले बताए।

कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले मुलुक दलदलमा फस्ने खतरा बढेको बताए। ‘राष्ट्रपति ज्यू अहिले सत्तारुढ दलभित्रका एउटा गुटको मात्रै राष्ट्रपतिको रुपमा देखिनु भएको छ,’ उनले भने, ‘अधिनायकवादतर्फ अघि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा परेर कारबाही हुने परिस्थिति निर्माण भएको र यदी कारबाही भएको अवस्थामा राष्ट्रपति ज्यूले यसरी नै सघाइ रहनु भयो भने मुलुकमा दुर्घटना निम्तिन्छ।’

राष्ट्रपतिले सम्मानित संस्थाको गरिमालाई ख्याल गरेर मुलुकको राष्ट्रपतिको भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो। उनले कांग्रेसको महाधिवेशन फाल्गुनमा सम्भव नभएकाले जेठसम्ममा गर्नुको विकल्प नभएको बताए।