रेशम चौधरीको मुद्दामा सुनुवाइ आज

resham-chaudhary01
लोकपाटी न्यूज

काठमाडौं। टीकापुर घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ सुरु भएको छ। उच्च अदालत दिपायलमा चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो।

उच्च अदालतका न्यायाधीस टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलासले मुद्दा हेरिरहेका छन्। त्यसैगरी रेशम चौधरीको पक्षमा गम्भीर सिंह ऐर, गंगाराम पाध्याय र गजेन्द्र केसीले मुद्दा हेरिरहेका छन्। उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सिता रेग्मीका अनुसार सम्भवतः आज नै उच्च अदालतले रेशमको मुद्दालाई किनारा लगाउने छ।

२०७५ फागुन २२ गते जिल्ला अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो। उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध चौधरीसहितका निवेदकले २०७६ बैशाख २९ गते पुनरावेदन गरेका थिए।

थरुहट-थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो। घटनामा संलग्न रहेको आशंकामा कैलाली १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको थियो।

टीकापुर घटनापछि चौधरी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए। वारेसनामामार्फत् कैलाली १ मा उम्मेदवारी दिएर जितेका चौधरीले १४ फागुन ०७४ मा आत्मसमर्पण गरेका थिए। जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि चौधरी जेल जीवन बिताइरहेका थिए। यसबीच उनी १८ दिन लामो अनसन पनि बसेका थिए, जसलाई गृहमन्त्री रामबहादुर थापा बादलले तोडाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्