हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने राप्रपाको घोषणा

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ देखि आन्दोनमा जाने निर्णय गरेको हो।

राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवम् उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ।’

बैठकले पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरमा मोटरसाइकल र्‍याली गर्ने र पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको हो। भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरूद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुन:स्थापनाको लागि पार्टीले पहिलो चरणमा प्रदर्शन गर्ने भएको हो।

यसका साथै,पार्टीले पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने भएको छ। पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ।