गर्भपतन गराएको आरोपमा प्रहरी निरीक्षक शर्मा पक्राउ

garbapatan
लोकपाटी न्यूज

पर्वत। पत्नीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहँदा सोही स्थानकी युवतीसँग प्रेमविवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतको एक स्वास्थ्य क्लिनिकमा ‘इच्छाविपरीत’ गर्भपतन गराएको आरोपमा प्रहरीले पक्रेको हो।

पीडित स्मृति शर्माले प्रेम सम्बन्ध रहेकै समयमा विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपसहित उजुरी गरेपछि प्रहरी निरीक्षक शर्मालाई मंसिर २३ गते कार्यरत स्थलबाट नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पीडित युवतीले जबरजस्ती भ्रुणहत्या गरेको आरोपमा मंसिर १५ गते उजुरी दिएकी थिइन्।

पर्वतमा घटनास्थल भएकाले अनुसन्धानका लागि प्रहरी निरीक्षक शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए। पीडितको स्वास्थ्य परीक्षण मंसिर २४ गते पर्वत जिल्ला अस्पतालमा गरिएको छ।

पीडित युवती र इन्सपेक्टर धु्रुव शर्माबीच प्रेम सम्बन्ध रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो। युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाह गर्ने तयारी गरेका थिए। पीडित युवतीले अर्कै युवतीसँग विवाह गर्न लागेको थाहा पाएपछि अधिकारकर्मीको सहयोगमा प्रहरी निरीक्षकसँग उनले विवाह गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्